सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसियू) र आइसोलेशन शैय्या सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जादा समस्या सृजना भएपछि अस्पतालले पाँच शैय्याको आईसियू र तीन वटा भेन्टिलेटरसहितको १५ शैय्याको आईसोलेशन वार्ड सञ्चालनमा ल्याएको हो ।
अस्पतालले एक महिना अघि नै आईसियू र आइसोलेशन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसियू सहितको सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो ।
डा. गौतमले भन्नुभयो, “कोरोनाको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य आपतकालिन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आइसियू सञ्चालन गरेका हौँ ।”
आपतकालिन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसियू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा शुरु गरेको हो । सो आईसियूमा कोरोना सङ्क्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ । आईसियू र आइसोलेसन वार्ड तयार पारेको महिनौं बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तीका लागि जनशक्ति मागसमेत गरेको छ ।









