सिन्धुपाल्चोकको चौतारा–सीपाघाट सडकको दोस्रोखण्डको ठेक्का स्वीकृत

चौतारा–सीपाघाट–कात्तिके–काठमाडौँ सडक आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको झँ्याडी खोलादेखि सीपापोखरेको देउरालीसम्मको १२ दशमलव छ किलोमिटर सडकको ठेक्का सम्झौता भएको छ ।

हाल कायम चारदेखि पाँच मिटर चौडाइको कच्ची सडकलाई स्तरोन्नति गरी नालीसहित आठ मिटर चौडा कायम गर्ने गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।

जिल्ला पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन भण्डारीका अनुसार चालू आर्थिक वर्षदेखि काम सञ्चालन गर्न बोलपत्र आह्वान गरेकोमा प्यासीफिक इञ्जिनीयरिङ कम्पनी प्रालिका ठेकेदार ठाकुरप्रसाद कँडेललाई रु २९ करोड ४९ लाख ५९ हजार ९८२.३५ मा ठेक्का स्वीकृत भएको छ । ठेक्काको अवधि २०७९ असार २७ गते सम्म कायम रहेको छ ।

वाग्मती प्रदेश सरकारबाट चालू आवमा दोस्रो खण्डको सडक सुधारसहित कालोपत्र गर्न बहुवर्षीय योजनाअन्तर्गत रु ५४ करोड ७४ लाख ७८ हजार बजेट निकासा भएको थियो । कन्ट्रीजेन्सी रकम कट्टी गरी रु ४६ करोड ७३ लाखको बोलपत्र आह्वान गरिएको थियो । प्रदेश सरकारले चौतारा–सीपाघाट–कात्तिके–काठमाडौँ सडकको नामकरणसहित बजेट निकासा भएको कार्यालयले जनाएको छ । चौतारादेखि सीपाघाटसम्मको २६ किलोमिटर सडकमा विगत दुई दशकदेखि यात्रु बस सञ्चालन हुँदै आएको छ ।

पहिलो खण्डअन्तर्गत चौतारादेखि सानु सिरुवारीको झँ्याडी खोलासम्मको नौ दशमलव ४४ किलोमिटर सडकको सुधारसहित कालोपत्र गर्ने काम गत वर्षदेखि हुँदै आएको छ । श्रेष्ठ सोवर्ण जेभीका ठेकेदार अर्जुन थापाले उक्त खण्ड आगामी असोजसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि कोभिड–१९ महामारीका कारण देशमा लकडाउन (बन्दाबन्दी) भएपछि तोकिएको समयभन्दा पछि धकेलिएको छ ।

इन्द्रावती गाँउपालिकाअन्तर्गत सीपापोखरेको देउरालीदेखि सीपाघाट पुलसम्मको चार किलोमिटर सडकको निर्माण सडक डिभिजन कार्यालय दोलखाले थालनी गरेको थियो । ग्राभेलिङ र नालीसहित ८० प्रतिशत काम पूरा भएपछि देशमा सङ्घीयता लागू भएपछि जिल्ला पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको उक्त सडकलाई आगामी आवमा कालोपत्र गरिने इञ्जिनीयर भण्डारीले बताउनुभयो ।

उक्त सडक सीपाघाटस्थित ढाँडखोलाको किनार हुँदै काभ्रे जिल्ला र काठमाडौँको शङ्करापुर नपा–८ स्थित कात्तिके हुँदै सालीनदी गएर टुङ्गिने छ । चौताराबाट साँखुको सालीनदीसम्म ५५ किलोमिटर मात्र पर्ने हुँदा भइरहेको सडकको दूरीभन्दा कम देखिएकाले आफ्नै सक्रियतामा गत आर्थिक वर्ष देखि बजेट विनियोजन गरिएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

[sidebar name="button post"]