जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका नेपालीलाई पक्राउ गरिएको प्र.ना.उ. खड्काले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले मल्ललाई पक्राउ गरिएको हो ।
नेपाली र मल्ललाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।