वीरेन्द्रनगर नगरपालिकामा आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाइने भएको छ । कोरोनाका कारण कोरोना सङ्क्रमित परिवारलाई र रोजगारी गुमाएकालाई तथा आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा यस्तो योजना ल्याइएको हो ।
नगरपालिकाले जिल्ला लघुउद्यमी सङ्घ मार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोडेर अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले बताउनुभयो । कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ ।
व्यवसाय सञ्चालनका लागि सेवाप्रदायक संस्थाले व्यवसाय शुरु तथा सुधारसम्बन्धी तालीम सञ्चालन गर्ने, सीपअनुसारको व्यवसाय सञ्चालनका लागि उपयुक्त प्रविधि उपलब्ध गराउने, आवश्यक पर्ने आर्थिक रकमका लागि वित्तीय संस्थासँग समन्वय गर्नेलगायतका सहयोग गर्नेछ । युवाहरुको लागि रुची तथा चाहनाअनुसार व्यावसायिक तथा सीपमूलक तालीम प्रदान गरीने र तालीमपश्चात् बजार भएको सम्भावित स्थानमा उद्यम व्यवसाय सञ्चालन गर्न सक्ने अध्यक्ष कविराज खत्रीले जानकारी दिनु भयो ।