नगद तथा सुन ठगी गरी फरार रहेको अभियोगमा दुई जना पक्राउ

३ साउन

नगद तथा सुन ठगी गरेर फरार रहेको अभियोगमा २ जनालाई काठमाडौं टोखा नगरपालिका ८ बानियाँटारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ घर बताउने २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँ बस्ने २२ वर्षीया पिंकी तामाङ रहेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका ७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साटीदिन्छु भन्दै नगद १८ लाख रुपैयाँ र साढे ५ तोला सुन लिई ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक पठाइएको छ ।