एकैदिन सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या नेपालमा सङ्क्रमण देखिएयताकै उच्च

कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । एकैदिन सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे याे सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिएयताकै उच्च हो ।

विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार आठ सय ५६ नमुना परीक्षणमा एक सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको छ ।

प्रदेशगतरुपमा साेमबार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

देशभरका क्वरेण्टीनमा अहिले २३ हजार चार सय ७० जना रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय १३ रहेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

काठमाण्डाै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थानमा सजगता अपनाइने प्रवक्ता गौतमले बताउनुभयो ।