चितवन: चितवनमा निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापन र नमूना मतदाता शिक्षा सम्बन्धी दुई दिने गोष्ठी आजदेखि शुरु भएको छ ।
निर्वाचन आयोगको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनका समन्वयमा गोष्ठी सुरु भएको हो । गोष्ठीको उद्घाटन गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । नमूना मतदाता शिक्षाबारे प्रकाश पार्दै उनले मतदानको १५ दिनअघि घरदैलो कार्यक्रम गरिने बताए ।
वडा तहमा घरदैलो कार्यक्रम गरिने उनको भनाइ छ । जिल्ला मतदाता शिक्षा समिति, स्थानीय स्तरमा स्थानीय मतदाता शिक्षा समितिले मतदाता शिक्षाको काम गर्ने उनले जानकारी दिए । आयोगमा हालसम्म गरेका काम र भावी कार्यक्रमका बारेमा पनि उहाँले जानकारी दिए ।
गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्ला र बागमती र मधेश प्रदेशका चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सिन्धुलीका निर्वाचनमा खटिने नायब सुब्बा र लेखापालहरु गरी ३५ जना गोष्ठीमा सहभागी हुनुहुन्छ ।
सहभागीलाई निर्वाचन आयोगका उपसचिव प्रदीप भट्टराई, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने र शाखा अधिकृत प्रकाश भण्डारीले सहजीकरण गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले समन्वय गरेका छन् ।









