काठमाडौं: चाडपर्वमा धेरैको रोजाइ माछा–मासु अनि मिठाइजन्य परिकारमै हुने गर्छ। त्यसमा पनि चिल्लो र मसालेदार परिकारले सबैको जिब्रो लोभ्याउँछ।
दीपावली गर्ने र देउसी भैलो खैल्ने मात्र होइन, विभिन्न प्रकारका रोटीहरू तिहारमा बनाउने चलन छ । प्राय: देउसी भैलो खेल्दै आउने भैलेनीहरूलाई नाङ्लाभरी सेल रोटी र अरु मिस्ठान्न परिकार दिने गरिन्छ । हामीले आज तिहार विशेष फिनी रोटी, सेल रोटी र अनरसाको रेसिपी प्रस्तुत गरेका छौँ ।
हामीले तिहारमा सेलरोटी जस्ता तेलमा तारेका, भुटेका खानेकुरा खान्छौं भने पोषणविदले त्यस्ता खानेकुरा स्वदकालागि मात्र नभई स्वास्थ्यका हिसाबले विचार गरेर खान सुझाव दिएका छन् । खानपानमै आउने असन्तुलनका कारण स्वस्थ्यमा विभन्न गडबढी देखापर्ने भन्दै पोषणविदले खानपानको अवस्था सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।
कुन खानेकुरा कसरी खाँदैछौं, केसँग खाँदैछौं, कति मात्रामा खाँदैछौं भनेर विशेष ध्यान दिनुपर्छ। शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्ने । कृत्रिम गुलियो र विभिन्न रङ मिसाएर मिठाइजन्य परिकार बनाउने चलन बढ्दै गएको छ। हेर्दा आकर्षक र जिब्रोका लागि स्वादिलो भए पनि त्यसले स्वास्थ्यमा भने असर पुग्ने गर्छ ।
मिठाइलाई गुलियो र आकर्षक बनाउन तथा लामो समयसम्म ताजा राख्न विभिन्न रङ तथा हानिकारक पदार्थको प्रयोग गरिन्छ। मिठाइ तथा अन्य गुलिया परिकार न्यून गुणस्तर र मिसावट धेरै हुने भएकाले सकेसम्म घरमै बनाएर खान उनको सुझाव छ।
यस्तो छ पोषणविद मधु थापाको तिहार विषेश सुझाव
- धेरै तताउँदा तेलको गुणस्तर घट्छ त्यस्तो तेल स्वास्थ्यकालागि राम्रो हुँदैन । अर्को कुरा एउटै तेलमा धेरै थरीका खानेकुरा बनाउनु पनि राम्रो होइन ।
- चाडबाडमा थोरै चिल्लो रोटीहरु खाँदा केही पनि हुँदैन । तर वर्षमा एक दिन खानु पर्ने खानेकुरा भन्दै धेरै दिनसम्म खाँदा चाही त्यसले असर गर्छ । तिहार भन्ने बित्तीकै चिल्लोचाप्लो खाने कुराहरु खाने चलन हाम्रो नेपाली समाजमा छ ।
- त्यस्तै, मासु पनि सेलसँग खान सकिन्छ तर त्यस्तो बेलामा मासुमा चिल्लो राखेर बनाउनु हुँदैन । मानिसको तौल, उचाईको आधारमा हामीले खानेकुरा खानुपर्छ । त्यसरी मात्रा मिलाएर खाएमा असर गर्दैन । तर, अहिले मासुमा पनि आफैमा बोसो हुने र त्यसमा पनि चिल्लो रोटीहरु मिलाएर खाँदा धेरै किसिमको समस्या आउन थालेका छन् ।
- मुख्यतय चाडबाडको बेलामा हामीले कुनै पनि तालिकाको पालना गर्दैनौ । यसले एक किसिममा रमाईलो त हुन्छ तर अर्कोतर्फ त्यही तालिका बिना काम गर्दा स्वास्थ्यमा विभिन्न समस्या समेत देखिने गरेको छ ।
- मदिरासँग त कहिल्यै पनि चिल्लो खान हुदैन । त्यसले मानिसहरुको अनावश्यक तौल वृद्धि गराउँछ । नसर्ने किसीमको रोग, मुटु रोग, चिनी रोग, हाइपर टेन्सन जस्ता नसर्ने रोगहरु बढ्दै जान्छ ।
- अर्को कुरा भनेको धेरै भन्दा धेरै मिठाई पनि खाने गरेको हामीले पाउँछौं । मिठाईमा चिनीको मात्रा बढी भएको हुने भएकाले हामीले त्यस्ता खानेकुरा सकेसम्म नखाने वा कम खाने गर्नुपर्छ । अझ अहिले त अधिकांशमा मधुमेह र रक्तचापको समस्या देखिन थालेको छ । यस्तो अवस्थामा हामीले रोग लाग्नु भन्दा अगाडी नै सावधानी अपनाउन जरुरी हुन्छ ।









