सात वटै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न आयोगको निर्देशन

काठमाडौँ: निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टर लगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ ।

आइतबार सुर्खेतमा आयोजित सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरु हेलिकप्टरबाट गएका थिए ।

नेपाल सरकारका प्रधानमन्त्रीलगायत मन्त्रीले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधि गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएको र आयोगमा विभिन्न माध्यमबाट उजुरीसमेत परेको सन्दर्भ उल्लेख गरिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागु भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गरेको प्रसङग उल्लेख गरिएको छ ।

साथै सो दफाको उपखण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न रोक लगाएको सम्बन्धमा सोबारे सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गर्न लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकारका मन्त्रीलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिने निर्णय गरेको छ ।

[sidebar name="button post"]