विदेशबाट फर्केका बने पशु प्राविधिक

तुलसीपुर: तीन वर्ष मलेसियामा औद्योगिक मजदुरका रुपमा काम गरेका दाङ दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडाका देविराम चौधरी यतिबेला गाउँमा पशु प्राविधिकका रुपमा कार्यरत थिए ।

पशुपक्षीमा लागेका रोगको पहिचान गर्नेदेखि त्यसको उपचारसम्मको काममा चौधरीको दैनिकी बित्ने गरेको छ । “मैले पशुसम्बन्धी लागेका रोग पत्ता लगाउने र त्योअनुसार उपचार गर्नसक्ने भएको छु ।गाउँमा कसैका पशुपक्षी बिरामी परेमा घरमै पुगेर उपचार गर्दै आएको छु ।

त्यस्तै बबई गाउँपालिका– ६ निवासी डम्बरकुमारी बुढाथोकी पनि विदेशबाट फर्किएपछि हाल पशु प्राविधिकका रुपमा गाउँमा सेवा दिइरहनु भएको छ । २०६४ मा विदेश जानु भएकी बुढाथोकी घरेलु कामदारका रुपमा ३२ महिना काम गरेका थिए । घरेलु कामदारका रुपमा विदेशमा काम गर्नु निकै कठिन समय थियो ।

अहिले गाउँमै सेवा गर्न पाउँदा खुसी लागेको छ, यही कामबाट सम्मान पनि पाएकी छु । मलेसियामा लामो समय बिताएर फर्किनु भएका बबई गाउँपालिका– ७ का मोहनबहादुर भण्डारी पनि अहिले पशु प्राविधिककै रुपमा गाउँमा सेवारत थिए । उनीहरु जस्तै विदेशबाट फर्कनेलाई स्वरोजगार बनाउने उद्देश्यले ‘सामूदायिक पशु सेवा सहायक तालिम सञ्चालन गरेपछि हाल धेरै जना गाउँमै स्वरोजगार बनेका छन् ।

दाङका सात वटा स्थानीय तह तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगर, राप्ती र गढवा गाउँपालिकामा तालिम सञ्चालन गरिएको थियो । तालिम एक महिनासम्म सञ्चालन गरिएको थियो । तालिमबाट शान्तिनगर गाउँपालिकामा ३० जना र अन्य छ पालिकामा २०÷२० जना गरी एकसय ५० जनालाई दक्ष सामूदायिक पशु सेवा सहायक बनाइएको छ ।

दाङको तुलसीपुरस्थित राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालयको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । सोही तालिममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको संयोजन एवं ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र युरोपेली युनियनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

[sidebar name="button post"]