नेपाल भाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति

काठमाडौं: नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । यस वर्ष कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष ११४३ सुरु हुँदैछ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेशअनुसार नेपालबाट प्रकाशन हुने पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर)ले प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रो अध्ययन गरी कारबाही गर्न अनुगमन उपसमिति पनि गठन गरिएको छ । नेपालका सबै जातजातिको नयाँ वर्षमा निस्कने पात्रो एवं भित्तेपात्रोले समितिसँग स्वीकृति नलिए कारबाहीका लागि सिफारिस गर्ने गरी तयारी गरिएको उपसमितिका सदस्यसमेत रहनुभएका समितिका कर्मचारी खिलहरि घिमिरेले राससलाई जानकारी दिए।

नेपाल भाषाको भित्तेपात्रोका लागि नेवा देय् दबु चन्द्रागिरि नगरपालिका–१२, बलम्बु, ललितपुर महानगरपालिका–२८ र २९ कार्यालय, हरिसिद्धि, हलिं नेवा, गुठी, मूज्याकु थक्वा, इमाद्वों नेवा दबु, महालक्ष्मी नगरपालिका–१, नेपाली कांग्रेस भक्तपुर नगर समिति, ज्यापू समाज यल, ललितपुर, श्रीकृष्ण सिर्जनशील नेवा खलः, खैरेनीटार, तनहुँले स्वीकृति लिएको उनले बताए ।

भित्तेपात्रो प्रकाशन गर्न सातै संस्थाले रु पाँच हजारको रसिद काटेर स्वीकृति लिएका हुन् । स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले मस्यौदाका रुपमा बनाएका कार्यविधि हाल स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।

मन्त्रालयको सुझाव प्राप्त भएपछि कार्यविधिलाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याइने जनाइएको छ । कार्यविधि स्वीकृति भएपछि स्वीकृति नलिने सबै पात्रो र भित्तोपात्रोका प्रकाशक कारबाहीमा पर्ने भएका छन् । पात्रो र भित्तेपात्रोमा फरक फरक तिथि, मिति, साइतलगायत विषयवस्तु उल्लेख गरिएको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । तिथि, मिति फरक पर्दा चाडपर्वका नाउमा एकरुपता नभई समस्या आउने गरेको थियो ।

[sidebar name="button post"]