नुवाकोट: नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ ।
आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनको अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् ।
थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा रु दुई करोड २० लाख बरारबको क्षति देखिन्छ ।
प्रनाउ खड्काले भने पीडित परिवार र प्रहरी–प्रशासन घटना (आगलागी) नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्छ । रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो ।
आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए ।









