काठमाडौं: फरक क्षमता भएका विभिन्न व्यक्तिहरुले आफ्नो कला कौशल र प्रतिभा प्रस्तुत गरेका छन् । च्यारिटी नेपाल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘द च्यारिटी रनवे २०२२’ नामक विशेष प्रस्तुतिमा फरक क्षमता भएका विभिन्न प्रतिभाले नृत्य, फेशन शोलगायत प्रस्तुतिकरण दिएका थिए ।
फरक क्षमता भएका विभिन्न २३ प्रतिभाले प्रस्तुतीकरण गरेको उक्त कार्यक्रम दर्शकले उल्लासका साथ मनोरञ्जन लिए । सहभागी प्रतियोगीले तीन चरणमा आफ्नो प्रस्तुती दिएका थिए । साथमा चर्चित नृत्याङ्गनाहरुको बेजोड प्रस्तुतिले कार्यक्रमलाई रौनक थपेको थियो ।
फरक क्षमता भएका व्यक्तिहरुलाई प्रोत्साहित गर्न र उनीहरुले पनि समाजका लागि केही गर्न सक्छन् भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको फाउण्डेशनले जनाएको छ । संस्थाका अध्यक्ष नुरु शेर्पाले फरक क्षमता भएका समाजका विभिन्न व्यक्तिहरुको प्रोत्साहन र हौशला अभिवृद्धिका लागि पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा ‘मोटिभेटर स्पिकर’ को रुपमा सृष्टि केशीले फरक क्षमता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्नसक्छन् खाली उनीहरुलाई प्रोत्साहनको जरुरी रहेको सन्देश दिन कार्यक्रम सान्दर्भिक भएको बताए । समाजमा कोही पनि असक्षम छैन मात्र फरक–फरक क्षमता रहेको छ कसैलाई पनि भेदभाव गरिनुहुन्न फरक क्षमता भएकाहरुलाई सकारात्मक वातावरण निर्माण गर्नसकिए सबल र सभ्य समाज बन्छ ।
वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले समाजमा फरक क्षमता भएका व्यक्तिहरु पनि केही गर्न सक्षम रहेको भन्दै उनीहरुलाई हौसला र प्रोत्साहनको जरुरी रहेको बताए ।









