भोजपुर: संरक्षणको अभावमा जीर्ण बनेकोे सिक्तेलखोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कबाडीमा परिणत भएका छन् ।
जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँहरूमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन ।
सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्यु्त्गृहमा क्षति पुगेको छ भने सामग्री क्षतविक्षत बनेका छन् । तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युत्गृह अलपत्र बनेको हो ।
जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा दुई सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युत्गृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् । विद्युत्गृह विसं २०३८ बाट सञ्चालनमा आएको थियो ।
भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युत्गृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् । यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ ।
आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।









