काठमाडौं: निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।
सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।
उनले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गरेका छन् । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेका छन् ।
सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गरे । त्यस्तै उनले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने बताए । उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आबद्धता देखाउनु नहुने पनि उल्लेख गरे ।











