प्रभावमा नपरी मतदान गर्न आग्रह

काठमाडौं: जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ ।

समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ । हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ । समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा मतदानद्वारा स्वच्छ छवि भएका योग्य, इमान्दार तथा लगनशील प्रतिनिधि चुन्ने अवसर प्राप्त गर्नु लोकतन्त्र तथा सुशासनको पूर्वशर्त भएको जनाएको छ ।

मुलुकको सुदृढ एवं दिगो लोकतान्त्रिक भविष्य स्थापित गर्ने यो एक स्वर्णीम मौका पनि भएको विज्ञप्तिमा उल्लेख छ ।कानुनी छिद्रको फाइदा उठाएर हत्या, भ्रष्टाचार तथा अन्य गम्भीर फौजदारी आरोप लागेका तथा प्रमाणित भएका व्यक्ति पनि जनप्रतिनिधि बन्न विगतमा सफल भएका थिए”, समितिले भनेको छ ।

यसबाट नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ नभई राजनीतिक विचलन, विसङ्गति तथा विकृति बढेको, अन्तर्राष्ट्रिय छविमा आँच पुगेको र दण्डहीनता मौलाउँदै गएको निगरानी समितिको ठहर छ ।

[sidebar name="button post"]