२६ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपियाँ निर्धारण गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको हो।
उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रूपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रूपियाँ निर्धारण गरेको विभागले जनाएको छ ।
संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको हो।
विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।











