काठमाडौं। मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । सभापति देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी दिएका छन् ।
कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहेका थिए ।









