थारु समुदायको आज मुर्गा पुज्ने दिन

कञ्चनपुर: नवमीको दिन आज थारु समुदायले मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाउँदै छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् ।

मुर्गा पुज्नु अघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी(घरमै बनेको मदिरा), पानी राख्नुपर्ने चरन चौधरीले सुनाए । उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ ।

सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । “दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ । बलि चढाएपछि धुप, बेवरी, जमरा चढाइ दूध, पानी, घरैया दारुको धार चढाइ मुर्गा पुज्ने क्रम सकिन्छ ।

मुर्गा पुज्ने कार्य सकिए पछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

[sidebar name="button post"]