सत्ता गठबन्धनको सिट बाँडफाँटमा आंशिक सहमति

काठमाडौँ: गठबन्धनमा रहेका पाँच दलबीच आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ ।

सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।

केही दोहोरो दाबी परेका ठाउँमा बाँकी भएपनि अन्य ठाउँमा सहमति भइसकेको माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ। यद्यपि बिहीबार (१३ असोज) मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चित्त बुझेन्।

दोहोरो दाबी परेकामा धेरैजसो स्थानमा कांग्रेस र अरू दलको दाबी रहेको छ । धनुषा ३, महोत्तरी ३, नवलपरासी पश्चिममा कांग्रेस र माओवादी, रुपन्देही १ मा माओवादी र जसपा र दैलेख १ मा कांग्रेस र एकीकृत समाजवादीले दोहोरो दाबी गरिरहेका छन् । अछाम १, बारा ४, धादिङ १, सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी रहेको छ । त्यस्तै, कपिलवस्तु ३, सिराहा २, पर्सा ३ मा पनि एकभन्दा बढी दलको दाबी रहेको छ ।

यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४/१५ सिट जसपाले पाउनेछ भने बाँकी १६/१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् ।

प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०/३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् । कांग्रेसले २१/२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तलमाथि र साटफेर हुनसक्छ ।’

बिहीबारको बैठकमा एकीकृत समाजवादीको भागमा १७ सिट रहने बताएपनि शुक्रबार त्यसमा पनि हेरफेर भएको भन्दै नेपालले गठबन्धनका दलहरुसँग चित्त दुखाएका हुन्। बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो।

[sidebar name="button post"]