जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आसन्न संसदीय निर्वाचनमा कुनै पार्टीको वैशाखीको आवश्यकता नरहेको बताएका छन् ।
जसपा धनुषाले बिहिबार शहीद नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले पार्टीलाई कुनै वेशाखीको आवश्यकता नरहेको बताएका हुन् । यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको समय जसपाकै पहलमा पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै अध्यक्ष यादवले मधेसी आदिवासीलगायत उत्पीडित वर्गको सम्मान हुने गरी सिटको बाँडफाँड भए आफूहरू अझै गठबन्धनको पक्षमा रहेको बताए।
आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पहाड मात्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।
उनले भने, ‘गठबन्धनमा अहिलेसम्म सिटबाँटबारे कुनै सहमति भएको छैन । हल्लाको पछाडि नलागौं ।’ उनले त्रुटिपूर्ण संविधानलाई संशोधनमार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।









