Ad #144479

काठमाडौं: काठमाडौं महानगरपालिकाले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा लचिलो हुन नसक्ने जनाएको छ।

महानगरपालिकाका प्रमुख बालेन शाहले बिहिबार एक विज्ञप्ति जारी गर्दै पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक नभई दीर्घकालीन रूपमा कार्यक्रम चलाउने बताएका हुन्।

दसैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला आज उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।  ‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो ।

त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्न चाहन्छौं,’ बालेनले भनेका छन् ।

फुटपाथ व्यापारलाई दसैंको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन् ।