११ असोज, काठमाडौं । आज मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैँलक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचास्थित रहेका तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेका छन् ।
उक्त टोलीले महानगरभित्र रहेको भित्री पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे–नगरेको, सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताएकी थिन् । डंगोलले कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा नभएको र उनीहरूलाई सचेत गराइएको बताइन् ।
उपमेयर डंगोलले बेच्ने मात्र नभई किन्ने मानिसमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइनुका साथै अनुगमनको क्रमलाई दसैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।
अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् ।
उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको थापाले बताइन्। उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाइन् ।









