काठमाडौं: नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।
उनले आफुलाई फसाउने तरिकाले जाहेरी दर्ता हुँदा मानसिक तनावले गर्दा आफु अहिलेसम्म नेपाल आउन नसेकेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।
भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको सन्दीपले उल्लेख गरेका छन्। उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन्।
‘मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो। के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो। मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आईसोसेसनमा राखेर बसेको छु।’
‘झुट्टा जाहेरी’ कै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रुपमा प्रभावित भइ आफू असन्तुलित अवस्थामा पुगेको पनि सन्दीपले उल्लेख गरेका छन्। ‘डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ। जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ सन्दीपले लेखेका छन्। सन्दीपले अहिले आफू एउटा गम्भीर षड्यन्त्रको सिकार भएको दावी गरेका छन्।









