काठमाडौं: स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान र धनगढीसहित केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएसँगै संघ र प्रदेश निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारीको लहर नै चलेको छ ।
आयोगले एक विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिह्न स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने ?’ भन्दै हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण सोधेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
हाम्रो नेपाली पार्टी’ लौरो चिन्हको संयोजक अनन्तराज घिमिरेलाई निर्वाचन आयोगले स्पष्टिकरण दिन सोधेका प्रश्नहरु ?
१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (६) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको प्रदान गरिएको निर्वाचन चिन्हको समूहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नैछ भन्ने कानुनी व्यवस्था रहेकोमा तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह लौरो तपाईं दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो ?
२. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीर्तफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको होरु त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन ?
३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा (३) मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दललाई कुन कानूनले प्रदान गर्यो ?
४. दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधरणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने हुँदा तपाई र तपाईंको दललाई कारवाही किन नगर्ने ?











