आज ‘अन्तर्राष्ट्रिय नारी दिवस’ नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।
यस वर्ष सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गरेका छन् ।









