राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा भौतिकरूपमा नै लिने तयारी गरेको छ ।
माध्यमिक शिक्षाको अन्तिम परीक्षा भएकाले सकेसम्म भौतिकरूपमा लिखित परीक्षा लिनुपर्छ भन्ने विज्ञहरुको सुझाबअनुसार परीक्षा बोर्डले तयारी गर्न थालेको हो ।
सोही योजनाअनुरूप बोर्डले आउँदो साउन मसान्तभित्र परीक्षा सम्पन्न हुने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमतिका लागि गत बिहीबार पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले भने कुनै निर्णय दिएको छैन ।
यसअघि कक्षा १२ को परीक्षा गत जेठ २६ गते शुरू हुने तय भएको थियो । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदा परीक्षा स्थगित भएको भएको थियो ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाका शर्तहरुसहित परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको हो ।
परीक्षा हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइनेछ । परीक्षार्थीको संख्या धेरै भएमा सिफ्टमा परीक्षा चलाउनुपर्ने र एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टकालाई प्रवेश गराउनुपर्नेछ ।
लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि स्थगित परीक्षाहरु सञ्चालन गर्ने तयारी गरेका छन् । आयोग र विश्वविद्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेका छन् ।
त्रिविले केही परीक्षाहरु आगामी साउन ५ गते र साउन ११ गतेदेखि लिने तयारी गरेको छ । लोक सेवा आयोगले साउन १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।











