विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको १ सय ६८ वटा गाडी र ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको जनाएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ९९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
सो क्रममा ५ सय ९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४५ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय २२ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।











