काठमाडौँ– सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आह्वान गरेका छन् ।
सरकारले यातायात व्यवसासी तथा मजदुरहरूको कुरा नसुनेको व्यवसायीहरूको आरोप छ । उनीहरूले आगामी शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने जनाएका छन् ।
काठमाडौँ जिल्ला प्रशासनले बिहीबार यस विषयमा छलफलका लागि यातायात व्यवसायी र मजदुर सङ्गठनका पदाधिकारीलाई बोलाएको छ। यातायात व्यवसायी हामी आशावादी छौँ, हाम्रो माग सम्बोधन हुनेछ ।’
कोरोना भाइरसको नियन्त्रणका लागि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो बनाउँदै काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरूले मङ्गलबारबाट जोरबिजोरका आधारमा २५ सिटभन्दा ठूला गाडी चलाउन दिने संयुक्त निर्णय गरेका थिए ।
निषेधाज्ञाका कारण गाउँ फर्किएका चालक र सहचालकहरू राजधानी आउन नसकेका कारण फाटफुटमात्रै गाडी चलेको छ ।
सरकारले २५ सिटभन्दा माथिका गाडीमात्र चलाउन दिएकोमा यातायात व्यवसायीको आपत्ति रहेको छ । सिट क्षमता कम भए पनि गन्तव्यमा पुग्न यात्रुहरू गाडी चढ्नै पर्ने हुन्छ । त्यसकारण स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर नगरी सबै किसिमका गाडी चल्न पाउनुपर्ने पहिलो माग छ ।
यातायातका क्षेत्रमा काम गर्ने श्रमिकलाई खोप दिने प्रतिबद्धता पनि व्यवसायीहरूले मागेका छन् । बैंकको कर्जा र पुनर्कर्जा सहजीकरण गर्नुपर्ने अर्को माग छ । भाडा समायोजन गर्नुपर्ने माग पनि छ ।
प्रशासनले सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, सहचालकले पन्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्ने प्रावधान छ ।









