अविरल वर्षाका कारण थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।

उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उनले जोड दिए ।

यसैगरी उनले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिएका छन् ।

[sidebar name="button post"]