जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

 १९ जेठ, काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानविन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वनजिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डको ७ वर्षपछि अर्थात २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

[sidebar name="button post"]