संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय गरिने : स्वास्थ्य मन्त्रालय

११ चैत्र, काठमाण्डौ। सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर संक्रमणको चक्रलाई रोक्ने बताउनुभयो ।

“बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर संक्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले संक्रमणको दर बढिरहेकोसमेत बताउनुभयो । “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले संक्रमणको दर विस्तारै बढ्दै गएको छ”, उहाँले भन्नुभयो । कोभिड–१९ संक्रमितको सङ्ख्या कमी आएको तर संक्रमण जोखिम कम नभएको उहाँको भनाइ छ ।

उहाँले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गर्नुभयो । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गत वर्ष आजकै दिनदेखि बन्दाबन्दी भएको थियो ।

अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना संक्रमणका कारण निधन भएका छन् ।

[sidebar name="button post"]