Ad #144479

२५ फागुन, काठमाण्डौ। वि सं २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

गएको २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा ‘कक्षा १०’ को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।