म्यानमारको हिंसात्मक दमनविरुद्ध नख्खुस्थित म्यानमारको दूतावास अगाडि विरोध प्रदर्शन

२१ फागुन, काठमाण्डौ। म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा काठमाण्डौमा प्रदर्शन भएको छ ।

नागरिक समाजका अगुवाले म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरेका हुन् । ललितपुरको नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ । उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायतको सहभागी रहेको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

 

[sidebar name="button post"]