१८ फागुन, काठमाण्डौ। सरकारले थप ५० लाख डोज कोरोना विरुद्धको खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।
हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए । स्वास्थ्य सेवा विभागका अनुसार आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु हुने छ। फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा विभागकाे जाेड छ ।
३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने छ । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि विभागले जनाएकाे छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरू देखा नपरेको बताए । डा.शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए ।
१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याँक नआएको हुनाले खोप नदिइने उनको भनाई छ । पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।












