९ फागुन, काठमाडौं । सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारीचालक तथा सहचालकलाई २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो।
यस्तै ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सोही दिनदेखि खोप लगाइने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। सरकारले २३ गतेदेखि दोस्रो चरणको खोपको कार्यक्रम सुरु गर्न लागेको हो। दर्ता भएका औषधिपसलमा काम गर्ने कर्मचारीलाई भने पहिलो चरणमै खोप दिइने भएको छ।
सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल आइपुग्दै छ। यसअघि भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप प्राथमिकताको आधारमा लगाइँदै छ।
मन्त्रालयका अनुसार शनिबारसम्म अग्रपंक्तिमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधिलगायत गरी तीन लाख ८३ हजार ३९८ जनाले कोरोना भाइरसको खोप लगाएका छन्। देशका २२६ केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइँदै छ।









