Ad #144479

३० माघ, काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ ।

यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ । अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको छ । फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको छ ।

 मन्त्रालयका स्रोत अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेको छ । पहिलो चरणमा २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग कुराकानी भइरहेको छ । यसका साथै कोभ्याक्समार्फत पनि फेब्रुअरी अन्तिमसम्म कोरोना खोप आइपुग्ने अपेक्षा छ ।