२६ माघ, दैलेख । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
पत्रकार थापाको हत्यामा संलग्न रहेका महाँबु गाउँपालिका–६ दैलेखका ६८ बर्षीया जयबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे हाे ।
उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै उनलाई समेत दोषी ठहर गरेको थियो । अदालतको फैसला अनुसार शाहीले ४ महिना २९ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको बताइएकाे छ ।
पक्राउ परेका शाहीलाई दैलेख जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ। तत्कालीन बिद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो ।
द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका डेकेन्द्र थापालाई नौमुले गाउँपालिका वडा नं ३ साबिकको द्धारी गाविस–१ मा २०६१ साल साउन २७ गते हत्या गरिएको थियो ।
थापालाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर निर्मम तवरले मारिएका र उनको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो । माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।












