२६ माघ, काठमाडौं । पत्रकारलाई आजबाट कोरोना भाइरस ‘कोभिड–१९ विरुद्ध’को खोप उपलब्ध गराउने भएको छ । भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि बचेको खोप आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो । आजदेखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
सहप्रवक्ता अधिकारीले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय ‘स्वास्थ्य सेवा विभाग’ मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जानकारी पनि दिए ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।












