२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको हाे । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको प्रहरीले जनाएकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आइतबार बिहानै घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका थिए ।
सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।
लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।












