आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडाैं । देश र जनताको अधिकारका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइन्छ।

विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो ।

त्यहीवर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

[sidebar name="button post"]