१३ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले नागरिक अगुवाले हिजो गरेको विरोध प्रदर्शनमा प्रहरीबाट भएको बर्बरताको भत्र्सना गरेको छ । महासंघद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पत्रकार र अगुवामाथि बल प्रयोग गरिनु गम्भिर आपत्तिको विषय हो ।
हिजो नागरिक अगुवाहरु कृष्ण पहाडी, सञ्जीव उप्रेती तथा वरिष्ठ पत्रकार नारायण वाग्लेलगायत अधिकारकर्मीको शान्तिपूर्ण प्रदर्शनीमा वर्तमान सरकारले बर्बरतापूर्वक बल प्रयोग गरी पानीको फोहरा हानेको घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएकोछ– विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण प्रदर्शनीमा उत्रिएका नागरिक अगुवा र पत्रकारमाथि भएको प्रहरी दमन अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने प्रयास हो भन्दै विज्ञप्तिमा यस्ता घटनाको महासंघ भत्र्सना गर्दछ भनिएको छ ।
मिति : २०७७।१०।१३
प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
माघ १२ गते नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए ।
शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ । महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथैः आगामी दिनमा यस्ता दमनकारी कार्य नदो¥याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ ।
रमेश विष्ट
महासचिव











