बाक्लो हुस्सु र कुहिरोले तराईका नागरिकको जनजीवन प्रभावित

१३ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा घाम देख्नै मुश्किल रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएकाे हाे । काठमाडौंको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।

काठमाडौंको न्यूनतम अझै घट्ने सम्भावना रहेको छ । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो । यसअघि गएको पुष १६ गते काठमाण्डौको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको महाशाखाले जनाएको छ ।

पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने छ । पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको  हाे । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध छ ।

[sidebar name="button post"]