आधुनिक गीतसंगीतका साधक धुव्र केसीको निधन

८ माघ, काठमाडौं । नेपाली आधुनिक गीतसंगीतका साधक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ः ४५ बजे उनको निधन भएको हो ।

केसी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए। २०र३० को दशकमा नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु दिएका केसी नेपालमा नाम चलेका गायक हुन्। उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी’ , ‘बगी जाने खोला’ जस्ता सुपरहिट गीतमा स्वर दिएका थिए

‘मायालु हजार हुन्छन्’ बोलको गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल गीत हो। गोपाल योन्जनको शब्दमा रहेको यो गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।

धुव्र केसीका सहोदर भान्जा प्रविन निरौलाले दिएको जानकारी अनुसार केसी पछिल्लो २ दिनदेखि अर्धचेत अवस्थामा थिए। करिव १० वर्ष अगाडिदेखि पार्किन्सन रोगसँग जुध्दै आएका केसी विगत तीन वर्षदेखि केयर सेन्टरमा विशेषज्ञ डाक्टर र स्वास्थ्य कर्मीको निगरानीमा थिए। विसं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए।

उनको परिवारमा तीन छोरी रहेका छन्। उनी नायक भुवन केसीका सहोदर काका पनि हुन्। उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने उनका भाइ विनोद केसीले बताए।

[sidebar name="button post"]