Ad #144479

५ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने जनाएको छ । महाशाखाको सोमबारर मौसमी बुलेटिन अनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको हाे ।

बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने छ । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको छ ।

पानी पर्नका लागि पर्याप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन । दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित भएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवाँलो लाग्ने गरेको छ । तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ ।

तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने छ । महाशाखाका अनुसार ४८ घण्टासम्म निरन्तर हुस्सु लागेमा मात्रै शीतलहर भन्ने गरिन्छ । अहिले दिउँसो अबेर एकछिन घाम देखिने र बिहान फेरि हुस्सु लाग्ने गरेको छ । तत्काल शीतलहर चल्ने सम्भावना नभए पनि चिसो भने बढ्ने छ ।

चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरको सुझाव छ । चिसोको बेला सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ५ गते (सोमबार)

दिउँसो :  देशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भू-भागमा आँशिक  देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का  पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

माघ ६ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ७ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।