२ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको जनाएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प भएको महाशाखाले जनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।
‘काठमाडौंमा यस्तो अवस्था आज दिउँसो पनि कायम रहन्छ, जसका कारण चिसो बढेको महसुस हुन्छ,’ मौसमविद पोखरेलले भनिन् । काठमाडौंको भिजिबिलिटी अपराह्न २-३ बजेपछि मात्रै केही सुधार हुनसक्ने उनले बताइन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ । त्यसैले प्रदेश नं. १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं. १ एकको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ । साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।











