कक्षा १२ को परीक्षा होम सेन्टरमै हुने

१३ श्रावण, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालय तहको अन्तिम परीक्षा भएकाले विज्ञ र विद्यार्थीको सुझाब पनि भौतिक उपस्थितिमा नै परीक्षा लिनुपर्ने भएकाले सोही अनुसार परीक्षाको तयारी भइरहेको बताए ।

कक्षा ११ र १२ सञ्चालन भएका अधिकांश विद्यालयमा १०० जना भन्दा कम विद्यार्थी रहेकाले सुरक्षित रुपमा परीक्षा सञ्चालन गर्न सहज हुने उनले बताए । पाँच सयभन्दा बढी विद्यार्थी भएका विद्यालयको संख्या ९० मात्र रहेको उनले बताए ।

होम सेन्टरबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या पनि कम हुने र विद्यार्थीमा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले उक्त विधिबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको हो ।

परीक्षाको लागि दुई किसिमले विद्यालयमा प्रश्नपत्र पठाउने उनले बताए । उनका अनुसार इन्टरनेटको सुविधा भएका विद्यालयमा इमेलमार्फत प्रश्नपत्र पठाइने र इन्टरनेटको सुविधान नभएका विद्यालयहरुमा प्रश्नपत्रको हाडकपि पठाइने छ ।

कोरोना संक्रमण देखिएका विद्यार्थीलाई छुट्ट्रै कक्षाकोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने उनले बताए । कोरोना संक्रमण भएर परीक्षा दिन नसक्ने विद्यार्थीहरुलाई भने पछि परीक्षा दिने व्यवस्था मिलाउने उनले बताए ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने बताए ।