कोभिड खोपको दोस्रो मात्रा आगामी वैशाख ७ गतेदेखि लगाइने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

२९ चैत्र, काठमाण्डौ। सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ ।

मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । सहप्रवक्ता डा अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिए ।

आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा ‘माघ १४ गतेदेखि’ खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने छ । पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन् । त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो । दोस्रो चरणको खोप उनीहरुलाई नै लगाइने छ । उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन् ।

जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ । नेपाललाई शुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो । कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ ।

सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने अब १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा झलक गौतमले बताए । सरकारले दोस्रो अभियानअन्तर्गत गएको फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो
। नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares