२१ काठमाण्डौ। तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन्।
काठमाण्डौस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार १५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज ‘अन्तर्राष्ट्रिय साहसी महिला’ अवार्ड पाएकी हुन् ।
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।
वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो । लामो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।
यसअघि यो अवार्ड पाकिस्तानकी शिक्षा अभियन्ता एवं नोबेल पुरस्कार विजेता युवती मलाला युसफजाईले पनि पाएकी थिइन् ।











