बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ

४ फागुन, काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध जाहेरी दिएकी थिइन् ।

बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले  बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना  बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापक समेत हुन्।